Thursday, December 12, 2013

फ्लाइ दुबाईले उडाएको शिकार!

फ्लाइ दुबाईले उडाएको शिकार!

नजिकैको बाटो हुदै गुडेको मोटरसाइकलको हर्नले एका बिहानै निद्रा बाट ब्युझायो।अलि पर को एभरेष्ट् बैकंले राखेको ठुलो घडि मा समय हेरेको त भर्खर ५ बजेको रहेछ। एकाबिहानै यसरी बाइक कुदाउने पक्कै पनि हेल्मेट टिचर हुनु पर्छ। अस्ति, कता बाट उडेर आएको एउटा पत्रिका को पाना मा पढ्याथें, आजकल हेल्मेट टिचर निक्कै ब्यस्त छन् रे भनेर। फेरी मेरो साथी, पंखेले नि भनेको थियो, “यसरी बिहानै पिठ्युंमा ठुलो झोला बोकेर बाइकमा दौडने प्राय जसो हेल्मेट टिचर हुन्छन रे”। उसले पनि एकदिन बेलुकी तिनकुने तिरको चिया पसलमा सुन्यारे भन्थयो। दुइ जाना ले गफ गरिरहेको। दुबै जनाले नराम्रो तलब र निद्रा नपुगेको गुनासो गर्दे थिए रे।

पंखे अलि माथि डाडा मा सुत्छ। उ उस्को आमा र  बहिनी संग बस्छ। पंखे म भन्दा दुई महिना अगाडि जन्मेको रे, तर हामी एकै साइजका छौ। हामी दुबै जना, हाम्रो वास्तविक आकार भन्दा केहि साना छौँ। “राम्रो आहार नभेटेर”, पंखेको आमाले भनेको।

वास्तवमा काठमाण्डौको महगिंले हामिलाइ नराम्रोसंग सताएको छ। पहिले, पहिले तिनकुनेको छेउछाउ अनि त्यो निकेतन् स्कुलको पुल छेउ प्रशस्त खाना पाइन्थ्यो। अहिले ति खाना फाल्नेको मध्य एउटालाई अख्तियारले समात्यो रे। पंखेले भनेको त्यो कता प्राधिकरण भन्ने ठाउँमा काम गर्‍थ्यो रे। अनि के रे त्यो ट्रान्सफर्मर् किन्ने बेला टन्नै घुस खाएको रहेछ। अनि त्यो अख्तियारमा नया सर आएपछि समात्यो रे। सर भन्नु पर्योनि! होइन भने नयाँ आदेश दिएर हामिलाइ पनि खत्तम पारिदिन बेर छैन। एक् त हाम्रो जनसंख्या घटेको छ, त्या माथि अख्तियार् लाग्यो भनेत खत्तम् पारि हाल्छनि।


अनि अरु सामान्य काम गर्नेहरुले अब खाना फाल्ने कुरै भएन। सामान्य काम गर्ने मान्छेहरुलाई अहिले काठमाण्डौको कमाईले दुई छाक खाना खान नै गार्‍हो छ। कसरी खाना फाल्ने। त्यही माथि अर्को भन्नै पर्ने कुरा त कोठा भाडा! कोठा भाडा यस्तो बडेको छ रे कि, मान्छे अहिले बाँच्नको लागि मात्र खान्छन् रे। अनि खाना कसरी फाल्ने? हो कि होइन भन्नु त? धन्न हामिलाइ भाडा तिर्नु पर्दैन, होईन भने त हाम्रो पनि उठिबास् लाग्थ्यो।

पंखेको आमाले भनेको हामी जन्मिनु अघि सम्म ठिक ठाक थियो रे। अलि, अलि खाना भेटिन्थ्यो रे। हाम्रो समुदाय बाँचेकोनै थियो रे। तर, अहिले पछि बाटो ठुलो बनाउने भनेर हामि बस्ने बास् उठाइ दियो हामि जस्ताको अधिकार् का लागि लडेको पार्टीले। उनीहरुले बाटो छेउको नर्कट घारीलाइ सखाप पारेपछि त हामि एक समय निकै अप्ठ्यारो पर्‍यो। पछि त्यो एअरपोर्टनेरको घारी फेला पर्‍यो। अनि अहिले अलि शान्त छ।

उनीहरु पहिले हाम्रो ठाउमाँ बस्दा त हामिले दश, दश बर्ष सम्म सहयोग गरेको हो नि। बास्तवमा उनिहरुले गर्दानै हामिले आफ्नो पुर्खजहरु देखी बस्दै आएको ठाउँ छोड्न पर्ने अवस्था आएको हो नि। कहिले दोहोरो कारवाही गर्छन रे, कहिले तालिम् भनेर हाम्रा साथीहरुलाइ मारे रे। त्यसैले हामिले पनि सहर पस्ने निर्णय लिँयौ रे। तर के गर्नु हामिले लगाएको गुण चटक्कै बिर्सिहालेनि सर्वहारा पार्टीले। तर ठिकै छ, हामिले पनि शिक्षा लिँयौ नि त। त्यसैले हामिले अब त्यस्ता कुनै पनि ब्यक्ति र समुहलाई सहयोग नगर्ने भनेका छौँ।


मलाइ त म जन्मेको ठाँउ पनि थाहा छैन। आमाले म गोकर्ण भन्दा माथि तिर, त्यो शिवपुरी भन्ने जंगलमा जन्मेको हो भन्नुहुन्थ्यो। एकचोटि पंखे र म जाने भनेका छौँ। सायद् अर्को बर्ष तिर जान्छौ होला।

हामिहरुलाइ सबैभन्दा ठुलो दशा त त्यहि चार्, पाँच महिना अगाडि आएको हो।

कुरो चैत् को सुरु तिरको हो। एकदिन पंखे र म खेल्दै एअरपोर्टको पल्लो पट्टि गएका थिँयौ। अचानक हामिले मनोहरा खोला किनारमा मरेका कुखुरा देख्यौँ। धेरै दिन देखिका भोकाहामि, भट्टा भट दुइवटा कुखुरा भ्याएऔ। खाएर डकार्‍न नपाउदैँ, अलि पर कुखुराको टन्नै प्वाख् देखा पर्‍यो।
पंखेले त्याँ पक्कै पनि कुखुरा गाड्या छ भन्ने ठोकुवा गर्‍यो र खुट्टा ले खोर्सिन थाल्यो। मैले छोडिदे भनेको के मान्थ्यो र त्यो। तँ हिजोको बच्चालाई के थाहा यस्तो कुरा भन्दै अझ छिटो खन्न पो थाल्यो। “यो मुलाले मलाई बच्चा भन्ने”  भनेर मलाई पनि सारै रीस उठ्यो र उ भन्दा छिटो खन्न थालेँ। एकैछिन मा कुखुरा का खुट्टा अनि त्यस् पछि मरेका कुखुरा त टन्नै भेटियो।

अर्को हप्ता हाम्रो सभा बस्यो। सभामा धेरैले चंखे र पंखेलाइ गाँउ निकाला गरिनु पर्छ भनियो। मलाई त सारै झोक चलेको थियो। चलि दिउ किँ जस्तो लाग्यो। तर चंखे, जो निडर थियो, उठेर कड्कियो, “तिमीहरुको मुखमा हामिले ल्याएर हालिदेको हो र मरेका कुखुरा। हामिले त हामि जस्तै सबै जना भोक्कै छन् भनेर खबर ल्याइदिएका हौँ। खाने, नखाने आफ्नो बिचार को कुरा थियो र फेरि माग्ने लाई फलेको चामल भन्या झैँ, हामि जस्ता स्याल् लाई कस्ले चाइने भुटेको मासु दिन्छ। त्यस्तो खान त सरकारी कर्मचारी हुनुपर्छ।”  र त्यस्‍मा चक्रे बाजेले थपे। यी दुई केटाले काम त राम्रै गर्‍या हुन्। गल्ति त हामि सबैको हो। हामिले सोचेर खानु पर्‍ने हो नि। यी दुईलाइ के थाहा कि ती कुखुरा लाइ बर्डफ्लु लाग्या थियो भनेर। भुन्टेको बज्यैले त्यस् माथि थपिन् “हामि गल्ति गर्ने अनि दोष यिनिहरुलाई दिन अलि मिल्दैन कि। र अनि सबैले एउटा के पनि प्रण गर्‍न पर्‍यो भने, हामि कसैले पनि अब केहि समय मरेका कुखुरा र चरा हरु खादैँनौ”।

म मन् मनै धन्न बाचिँयो भन्दै थिएँ। हुन पनि हो नि, सात जना त ति कुखुरा खाको चौथौ दिनमा मास छर्न गए। खएका मध्ये धेरैलाइ अहिले सम्म पनि रुघा खोकीले  सताएको थियो। म आफैँ पनि दुई दिनत् ओछ्यानैँ परेँ।

पंखेलाई चाहिँ माने मैले। न त त्यो बिरामि भयो, न त रुघा खोकी। हिजो पनि मनहरा पुल छेउ, अर्को ठाँउमा गएर, फेरि “तीनटा मर्‍या कुखुरा खा र आ हुँ” भन्थ्यो।

पंखेले भन्थयो यो सब बोर्डर पारी तिर बाट रचिएको हो रे। मेरी आमाले भन्नु भाको खोई के नामको कुखराको मासु बेच्ने ठाँउको नाममा कुखुरा सँगसँगै बर्डफ्लु पनि पठाइएको हो रे। खोई हामिलाई किन देखि नसहेका हुन्। खएर, छोडदिम्। हामिले कुरा गरेर मात्र के हुन्छ र, गर्नेले गर्दैनन्!
एकातिर भोकको मार राम्रो अनि शिकारको अभाव, अर्‍को तिर वास उठेको चिन्ता। जता पनि समस्या भएकाले, पंखेले नया उपाय ल्यायो। “हेर हुन त आफ्नै वंशजको शिकार राम्रो त होइन, तर के गर्ने समस्या भएपछि, के सहि र गलत् भन्दा पनि, समाधानको प्रयास ठीक छ कि छैन भन्ने हो। यदि, यस्ले हाम्रो आफ्नो जीवन यापन सहज हुन्छ भने, यो काम गर्नु ठीक होला। हो कि होईन?” पंखेले भन्यो। एक मनले के कुकुरको शिकार गर्नु र भन्ने लाग्यो, तर अर्को मनले भोको पेटको प्रतिष्ठा भन्दा, एकबारको जीवन ठुलो हो भन्ने लाग्यो। त्यस माथि, अरुले फालेको खाना, रोगाएर मरेका कुखुरा त खाएकै हो भन्ने लाग्यो। त्यसैले मैले “हुन्छ” भनिदिएँ।

हामिले त्यहि बेलुकी एअरपोर्ट छेउको काले कुकुरलाई जालमा पार्‍ने विचार गर्यौ। त्यसैले सबै योजना बनाएर हामी साझँमा भेट्ने भन्दै छुट्यौँ।

पंखे म भन्दा अघिनै पुगी सकेको रहेछ।

काले, त्यो एअरपोर्टको सामान् उठाउने अफिसको गेट पारि पट्टि, घुमिरहेको थियो।  

पंखे सडक पारि बाट र म चाँहि, तिनकुने तीरबाट, त्यस माथी जाइ लाग्ने बिचार गर्‍यौँ। योजना अनुसार म अलि तल बाट बाटो काँटे। पंखेको आँखाको इसारा बमोजिम, त्यसको नजिकै मात्रके पुगेका थिँयौ, त्यसले काँ बाट भेउ पाएछ, तारबार बाट भित्र छिर्‍यो।

परेन फसाद! नरकट घारी अनि त्यहि माथि ठुल्ठुला पिलेन आउने र जाने समय। त्यो काले बजीया, त्यतै तिर लाग्यो।

हामि पनि के कम र, हामि पनि पछि लाग्यौँ। पुलिस, एकछिन्, कराउँदै आयो। तर अभ्यास नगर्ने पुलिस परेछ, एकछिनमै हकर्‍या, हकर्‍या गरीहाल्यो। 

काले पनि थाकेछ क्यारे, हामि पनि त्यसको नजिकै पुग्यौँ। तर फेरी पनि, त्यो उम्कियो। एकछिनमै, त्यो एअरपोर्ट को दक्षिण-पश्चिम पट्टिको, पिलेन् उडने ठाउँमा पुग्यो।

आखिरी मा हामिलाइ जे डर थियो त्यहि भयो।

त्यो कुद्दै गएर, उडन लागेको पिलेन मा ठोक्कियो। हामिले हेर्‍दा हेर्‍दै, हाम्रो शिकार त त्यो पिलेन को पांग्रामा टुक्रा, टुक्रा भएर उडयो। भोलि पल्टको पत्रिकाले त्यो हाम्रो शिकार उडाउने त फ्लाइ दुबाई भन्ने पिलेन पो रहेछ भन्ने थाहा भयो।


पंखे खुब रिसाएर उफ्रियो। तर के गर्ने, अरु केहि उपाय थीएन। त्यसैले एअरपोर्टको तल ठुलो होटेलको खाना फाल्ने ठाँउमा केहि रहेल पहेल छ कि भनेर लाग्यौँ। 

No comments:

Post a Comment